हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेको छ। सवारी चाप व्यवस्थापन गर्न आजदेखि साना यात्रुवाहक सवारीसाधनले आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै यात्रा गर्नुपर्नेछ।
यस्तै, काठमाडौंंबाट हेटौँडा आउने साना यात्रुवाहक सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै हेटौँडा आउनुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र काठमाडौं उपत्यकाबाट हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो। वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेर जाम हुन थालेपछि प्रशासनले सवारीसाधनको आवागमनलाई व्यवस्थित गर्न नयाँ रुट निर्धारण गरेको हो।
प्रशासनले फरक–फरक मार्गबाट सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गरेपछि वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समयसम्म सवारी रोक्नुपर्ने समस्या कम हुने अपेक्षा गरेको छ।



