धनुषा र सिरहामा बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौँ, माघ २० गते । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशका धनुषा र सिरहा जिल्लामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले धनुषाको लक्ष्मीनिया गाउँपालिकामा शुक्रबार सो कार्यक्रम सम्पन्न गरेको छ ।

पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको सहभागीहरुले गुनासो सुनाएका थिए । बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको उहाँहरुले बताए । चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका कार्यक्रममा सहभागीहरुले गुनासा गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले एक कप चिया नखाएर भएपनि बीमा गर्न आग्रह गर्नुभयो । अध्यक्ष मिश्रले समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रुपौयाँ बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसैगरी, बुधबार सिरहाको नवराजपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । ती कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले पालिकाका कर्मचारी र भवनको बीमा गर्न, बीमालाई कार्यक्रममा नै समावेश गर्न, न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रुपमा बीमा गर्न गाउँपालिकाहरुलाई आग्रह गरेका थिए ।