मुस्ताङलाई झण्डै ५० करोड सहयोग उपलब्ध गराउँछौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो ।

‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा आयोजित खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असरबारे विश्वको ध्यानाकर्षण गराएको जानकारी पनि उहाँले दिनुभयो ।