सयपत्री फूल खेतीबाट आम्दानी गर्दै युवा

दाङ, कात्तिक १७ गते । लहरै रोपिएका सयपत्री फूलका बिरुवा फुलेर अहिले ढकमक्क भएका छन् । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूल खेती गर्दै आउनुभएका  भास्कर पँगेनी र दशरथ साउदले दुई वर्षअघिदेखि दाङमा व्यावसायिक सयपत्री फूल खेती विस्तार गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा फूल खेती गरिएको छ भने घोराही–१२ शिवपुरमा पनि १३ कट्ठा  जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गरिएको छ। गत वर्ष तिहारको समयमा फूलमात्रै रु १३ लाखबराबरको बिक्री गरेको व्यवसायी पँगेनीले बताउनुभयो । तिहारभन्दा पछाडि सयपत्री फुलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ गराएर पाँच लाख आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । यसपालि तिहारको समयमा  रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
यसपालि तिहारका लागि रोपिएका फूल ढपक्क फुलेका छन् । फूल टिपेर कोल्ड स्टोरमा राख्न र माला बनाउन सुरु गरिएको व्यवसायी दशरथ साउदले  बताउनुभयो । ढकमक्क फुलेका फूलमा फोटो खिच्न चाहनेहरुका लागि लक्ष्य गरेर टिकटक स्पोर्ट पनि बनाइएको उहाँँले  जानकारी दिनुभयो  ।
फूल खेती गरिएको स्थानमा जान  प्रवेश शुल्क ५० राखिएको छ । गत वर्ष रु तीन सय प्रतिकेजीमा फूल बिक्री गरिएकामा यस वर्ष अझै मूल्य निर्धारण नगरिएको व्यवसायी साउदले  बताउनुभयो । एउटा माला रु ८० मा बिक्री भइरहेको उहाँँको भनाइ थियो  । टिकटक स्पटमा फोटो खिच्ने व्यवस्था पनि गरिएको छ । क्यामराले फोटो खिचेर मोबाइलको मेमोरीमा राखिदिएको रु २० लिने गरेर सेवा दिने गरेको व्यवसायी साउदले  जानकारी दिनुभयो ।
गत वर्ष (कर्मा ५५५) जातको सयपत्री फूल खेती गरिएकामा यसपालि  कर्मा त्रिपल एक अरेन्ज, कर्मा त्रिपल आठ एल्लो, कर्मा त्रिपल, पाँच ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्ज, पेनिस बल गरी छ जातका सयपत्रीका बिरुवा रोपिएका छन् ।  रु एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखिको उहाँले बताउनुभयो ।
“सबै फूल बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेका हाँै”, व्यवसायी साउदले  भन्नुभयो । “यसपालि दुई लाख बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर दुई रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।” बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ । कपिलवस्तुमा पहिलेदेखि नै खेती भइरहेको थियो यो वर्षदेखि कोहलपुर, कैलालीमा फूल खेती विस्तार गरिएको उहाँले बताउनुभयो ।
युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पँगेनीको भनाइ थियो । बेरोजगार युवाहरुलाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ कन्सेप्टमा कृषि फर्मको नाम नै (१०८) राखिएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला जिल्लामा क्षेत्र विस्तारको योजना रहेको व्यवसायी पँगेनीले बताउनुभयो ।
तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण
तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको मूल्यमा एकरुपता कायम गर्न मूल्य निर्धारण गरिएको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासँगको छलफलपछि फूलको मूल्य प्रतिकेजी रु तीन सय निर्धारण गरिएको हो ।
तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलखेतीतर्फ युवा तथा विद्यार्थीले विभिन्न स्थानमा फूल खेती गरेका छन् । व्यवसायी र विद्यार्थीहरुले गरेको फूल खेतीको बजारीकरणमा सहजताका लागि न्यूनतम प्रतिकेजी रु तीन सय मूल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो ।
तुलसीपुरमा १५ पुष्प व्यवसायी र चारवटा सामुदायिक तथा निजी स्कुल ÷कलेजका विद्यार्थीले पनि तिहारलाई लक्ष्य गरी फूल खेती गरेका छन् ।