सङ्घीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत

काठमाडौं, मंसिर २५ गते । सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएको छ । उहाँको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो । उहाँको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको स्रोतले बताएको छ ।

डा. गौतमले सङ्घीय संसद्को महासचिव पदबाट आइतबार राजीनामा दिनुभएको थियो । उहाँ २०७७ वैशाख २२ गते उक्त पदमा नियुक्त हुनुभएको थियो ।

उहाको राजीनामा स्वीकृत भएपछि सङ्घीय संसद्का सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका छ । पाण्डे अहिले प्रतिनिधिसभा सचिव पदमा कार्यरत हुनुहुन्छ ।

नायव महान्यायाधिवक्ताबाट राजीनामा दिएका पाण्डेलाई तत्कालै प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।