भुकम्पपिडितका लागि दक्षिण कोरियाको सहयोग

काठमाडौं, पुस ४ गते । कर्णाली प्रदेशका भुकम्पपिडितका लागि दक्षिण कोरियाली सरकारले तीन लाख अमेरिकी डलरबाराबरको सामाग्री सहयोग गरेको छ । बुधबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) मार्फत आवश्यक मानवीय सामग्री हस्तान्तरण गरिएको हो ।
गत कार्तिक २७ गते कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परि १ सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पबाट तीन दुई जिल्लाका तीन लाख जना प्रभावित भए ।

“युएनएफपीएसँगको सहकार्यमा जाजरकोटमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्न दक्षिण कोरियाली सरकार प्रतिबद्ध रहेको नेपालका लागि दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले बताउनुभयो ।

कोरियाले सन् २०१५ मा नेपालको भूकम्प र कोभिड – १९ को महामारीलगायतका चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्दै आएको छ ।

यो सहयोगले भर्खरै गएको भूकम्पबाट प्रभावित समुदायको पुनः लाभमा सहयोग पुग्ने विश्वासका साथ कोरियाली जनता र सरकार नेपालको साथमा रहेको उहाँले बताउनुभयो ।

गत कार्तिकको भूकम्पले महिला तथा किशोरीहरुलाई यौन र अन्य हिंसा, शोषण, र दुर्व्यवहारको उच्च जोखिममा परेका छन्, उहाँले भन्नुभयो, कतिपय स्वास्थ्य संस्थाहरुको भवनहरु नष्ट भएका छन् । स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीहरुको अभावले गर्दा स्वास्थ्य सेवाहरू अवरुद्ध भइ विशेष गरी मातृ स्वास्थ्य सेवा प्रदान गर्न कठिनाई भएको को छ ।

हार्दिक कृतज्ञता व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (युएनएफपीए) की प्रतिनिधि बोन योंग होङले मानवीय सहयोग पुर्याउने अटल प्रतिबद्धताको लागि दक्षिण कोरियाको प्रशंसा गर्नुभयो । “हामी दक्षिण कोरियाली सरकारको यो अमूल्य सहयोगको लागि धेरै आभारी छौं । यो योगदानले प्रभावित महिला र किशोरीहरूलाई उनीहरूको सरसफाइ, महिनावारी स्वच्छता, र यौन र प्रजनन सम्बन्धी आवश्यकताहरूको सहयोग पुग्ने उहाँको विश्वास छ ।

युएनएफपीएकी प्रतिनिधि होङले भन्नुभयो, युएनएफपीएको प्राथमिकता महिला र किशोरीहरुको अधिकार सुरक्षित गर्ने, सम्मानपूर्वक जन्म दिने, र हिंसामुक्त जीवन जिउने अधिकारको सुनिश्चित गर्नु हो ।

दक्षिण कोरियाको सहयोगमा, युएनएफपीएले आगामी तीन महिनामा ४०,००० भन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने ५,००० न्यानो कपडा तथा सामग्री, २,००० डिग्निटी (मर्यादा) किट, र विभिन्न स्वास्थ्य किटका १४ वटा सेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री बितरण कार्य जारी राख्नेछ ।

यी किटहरूमा अस्पताल र अन्य स्वास्थ्य सुविधाहरूमा आपतकालीन हेरचाह र चिकित्सकीय व्यवस्थापन र परिवार नियोजन सामग्रीहरूको लागि आवश्यक चिकित्सा आपूर्तिहरू समावेश छन् । यो रकम जाजरकोट र रुकुम पश्चिमका ५० भन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा विरुद्ध लड्ने सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न पनि प्रयोग गरिने उहाँले बताउनुभयो ।