सरकारले छ महिनामै उठायो ५१५ अर्ब रुपैयाँ राजस्व

काठमाडौं, माघ १ गते । चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ ।

सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।

राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो ।

सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो । प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताउनुभयो ।