सुत्केरी भेट्न उपप्रमुख कोसेली बोकेर घरमै पुग्दा…

रुपन्देही, माघ २५ गते । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी कोसेली लिएर गुरुङको घरमा पुग्नुभएको थियो । कोसेली रहेको झोलामा घ्यू, ज्वानो, मह, सर्फ, डेटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानेटरी प्याड, झुल, म्याक्सीलगायत सुत्केरीलाई आवश्यकपर्ने सामग्री थिए ।

“उपप्रमुखले घरमै आएर कोसेली दिनुभयो, उहाँ घरमै आउँदा निकै खुसी लाग्यो”, गुरुङ भन्नुहुन्छ । उक्त नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालेको हो ।

सोही कार्यक्रमअन्तर्गत विभिन्न वडाका सुत्केरी आमा र शिशुलाई भेट्न उपप्रमुख अधिकारी आफै पुग्नुहुन्छ । झोलामा सुत्केरीलाई चाहिने सामानसहितको झोला बोकेर उहाँ पुग्दा सुत्केरीका साथै परिवार पनि खुसी हुने गरेका छन् । “नजिकैको सरकार महसुस गर्न पाएका छौँ, निकै खुसी लागेको छ”, वडा नं १ की सुत्केरी सुुशीला श्रेष्ठ भन्नुहुन्छ ।

अहिलेसम्म वडा नं १, २, ९ र १२ का गरी करिब ७० महिलालाई ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराइएको उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइराला उल्लेख गर्नुहुन्छ । उहाँका अनुसार रु ३५ हजार मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमालाई उपलब्ध गराइएको छ । “उपप्रमुख वडाका सुत्केरीको घरमै पुगेर कोसेली दिनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था पनि बुझ्नुहुन्छ”, स्वकीय सचिव कोइराला बताउनुहुन्छ ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदनका साथै विवाह दर्ताको प्रमाण, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ ।
“सुत्केरी अवस्थामा के खाने, कति दिन आराम गर्ने, कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छजस्ता सन्देश लेखिएको पम्पलेटसमेत कोसेली भेटमा उपलब्ध गराइएको हुन्छ । यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ”, उपप्रमुख अधिकारी भन्नुहुन्छ ।

मधेसी समुदायमा विवाह दर्ता र जन्मदर्ता प्रायः कम हुने भएकाले न्यायिक समितिमा पनि त्यस्ता गुनासा आउने गरेपछि सचेतनाका लागि सुत्केरी कोसेली भेट कार्यक्रम सुरु गरिएको जानकारी दिँदै उहाँ यसले समयमै जन्मदर्ता गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको बताउनुहुन्छ ।

“कार्यालयको काम, अन्य बाध्यताले गर्दा जनप्रतिनिधि नागरिकको दैलोमा पुग्न भ्याएका हुँदैनन् ।स्थानीयवासीका समस्या र गुनासा पनि थाहा र यस कार्यले नागरिकको दैलोमै पुगेर सेवा दिँदा नजिकको सरकारको महसुस नगरवासीले गर्न पाउँछन्”, उपप्रमुख अधिकारी भन्नुहुन्छ । सुत्केरी आमालाई कोसेली दिन उपप्रमुख अधिकारीसहित सम्बन्धित वडाका प्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी र स्वयंसेविका घरमै पुग्ने गरेका छन्।