काठमाडौं, चैत २ गते । सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम गरिहरेको छ । अहिले नगर क्षेत्रमा २ वटा मेसिनमार्फत जग्गा नापीको काम भइरहेको उहाँले बताउनुभयाे ।
गत सातादेखि वडा नं. १० को वंशेबाट सुधारिएको प्रविधि प्रयोग गरेर नापीको काम सुरु गरिएको र अहिले जग्गा नाप्ने काम तीव्र रुपमा अघि बढेको नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताउनुभयाे ।
उनले भने, ‘नगरपालिकाले भूमिहीनका समस्यालाई चाँडै नै हल गर्नेछ । कम्प्युटरमा ईन्ट्री गर्ने र प्रविधिकहरुले जग्गा नापी गर्ने कार्य नगरपालिकाले गराइरहेको छ ।’
नगरपालिकामा ११ हजारले लालपुर्जा उपलब्धताका लागि आवेदन दिएका छन् । तिमध्ये ४ हजार ३०० जनाको कम्प्युटरमा ईन्ट्री गर्ने कार्य सकिएको भूमि ईकाई प्रमुख मल्लवलाल अधिकारीले बताउनुभयाे ।
पछिल्लो समय नगरपालिकाले डिजिटल प्रणालीबाट नापी गर्न सहज गराउने वडा नं. १२ १३ र १४ बाहेकका वडाहरुमा राखिसकेको पनि भूमि ईकाई शाखाले जनाएको छ । वडा नं. १२ १३ र १४ मा भूगोलका कारण अरु प्रणालीमार्फत् नापी गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नं. १० का ५४ जनाले चाँडै नै लालपुर्जा पाउने भएका छन् । नगरपालिकाका अन्यलाई पनि लालपुर्जा दिलाउन तिव्र रुपमा काम अघि बढाइएको बताइएको छ ।