खुला मञ्चलाई घाँसे चउर बनाउदै महानगर

काठमाडौं, माघ १८ गते । काठमाडौं महानगरपलिकाले खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन सुरु गरेको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न काम भइरहेको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारी भन्नुहुन्छ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ। बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ। मर्निङ् वाक गर्न सकिनेछ। बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ।’

पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘उबडखाबड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना हो। खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना छैन।’

हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ। महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, गएको ३ दिनदेखि काम भइरहेको छ।