प्रधानमन्त्री प्रचण्ड पदमुक्त, गुमाए प्रतिनिधिसभाको विश्वास

२८ असार, काठमाडौं । १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।

सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे ।

प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे ।