बागलुङमा मसानघाट नै अतिक्रमणमा

बागलुङमा धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् ।  तीमध्ये अधिकांश खोला किनार तथा मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । केही ठाउँमा खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट पुरिएका छन् र वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज खेत तथा घर तथा भवनहरू बन्न थालेका छन् । गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा डेढ दशक अगाडिसम्म सुनसान रहे पनि अहिले ठूलो बस्ती बसेको छ । कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको छन् ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताए । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उहाँको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताएका छन् । जिल्लाका १० वटै पालिकामा अतिक्रमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको उहाँको भनाइ छ ।