काठमाडौंमा जयनारायण आचार्य सीडीओ

गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक रहेका जयनारायण आचार्यलाई पठाइएको छ । यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि किरण थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने लिलाप्रसाद शर्मा र रमा आचार्य गृह मन्त्रालयमै थिए । त्यस्तै उपसचिव सुवेदीलाई प्युठानको सीडीओ बनाएर पठाएपछि प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ । अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए । अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ ।

यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ । उनको जिम्मेवारी भने तोकिन बाँकी छ । तीन सातादेखि सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँची सीडीओ विहीन थिए ।