कोहली र जैसवालको शतकमा भारत बलियो, अस्ट्रेलिया ५२१ रनलेपछि

 

काठमाडौँ — बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा भारतले पूर्ण रुपमा दबदबा कायम गरेको छ।

पर्थमा शुक्रबारबाट सुरु भएको टेस्टको तेस्रो दिन विराट कोहली र जशस्वी जैसवालले शतक प्रहार गरेपछि भारतले ४८७–६को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो।

भारतका लागि युवा ओनपर जैसवालले २९७ बलमा १५ चौका र ३ छक्का प्रहार गर्दै १६१ रन बनाए भने कोहलीले १४३ बलमा १ सय रन बनाए। कोहलीको यो ३०औं टेस्ट शतक हो। पहिलो समय खराब लयमा रहेका उनले ४९१ दिनपछि टेस्ट क्रिकेटमा शतक बनाएका हुन्। उनले यसअघि २०२३मा वेस्टइन्डिजविरुद्ध शतक बनाएका थिए।

यस्तै, भारतका लागि केएल राहुलले ७७ रन बनाउँदा नितिशकुमार रेड्डीले ३८, वासिङ्टन सुन्दरले २९ र देवदत्त पाडिकलले २५ रन बनाए। भारतले कोहलीले शतक प्रहार गरेलगत्तै इनिङ समाप्तिको घोषणा गरेको थियो।

भारतले दिएको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो इनिङमा पनि खराब सुरुआत गरेको छ। तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया १२–३को दयनीय अवस्थामा छ। उसका नाथन म्याकस्वेनी डकआउट भए भने कप्तान पाट कमिन्स २ र मार्नस लाबुसेन ३ रन बनाएर आउट भए।

भारतका जस्प्रित बुमराहले २ र मोहम्मद सिराजले १ विकेट लिए।  त्यसअघि पहिलो इनिङमा भारतले १५० रन बनाएको थियो भने उसले अस्ट्रेलियालाई १०४ रनमै अलआउट गर्दै ४६ रनको अग्रता बनाएको थियो।  बलिङमा भारतका बुमराहले ५, हर्षित रानाले ३ र मोहम्मद सिराजले २ विकेट लिएका थिए।