गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

तेह्रथुम माघ २९ गते । गाउँमा अस्पताल भए पनि विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागी धरान बिराटनगर नै पुग्नुपर्छ । गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरु भए पनि सुविधा सम्पन्न अस्पतालहरु अझै स्थापना भएका छैनन् ।

विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरुले महंगा र टाढा रहेका अस्पतालहरुबाट स्वास्थ्य सेवा लिन मुस्किल बन्दै आएको छ । यी र यस्तै समस्यमा रहेका नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ छथर गाउँपालिका तेह्रथुमले विजयपुर अस्पतालसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गाउँको केन्द्रमा निःशुल्क रुपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरुले सेवा लिएका थिए । धरान विराटनगर लगायतका अस्पतालहरुमा सेवा लिन लाइनमा बस्नु पर्ने, पैसा नहुँदा उपचार नगरी घर फर्किनु पर्ने समस्या भइरहँदा पाइएको सेवाले राहत मिलेको छथर ५ ओख्रेकी ७६ वर्षकी मनमाया खड्काले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘पहिले पहिलो यस्तो उपचार पाउन गाह्रो हुन्थ्यो । धरान विराटनगर पुगेर सेवा लिन पनि लाइनमा बसेर पालो कुर्दै आफ्नो उपचार गनु पर्छ । घर नजिकै सेवा पाउँदा खुसी लाग्यो,।’ खड्का जस्तै छथर २ का नरबहादुर बस्नेतले पनी शिविरमा सेवा लिनुभयो । उहााले स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा राहत मिलेको बताउनुभयो । विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरुले अझै सुबिधा सम्पन्न अस्पतालबाट सेवा लिन पाएका छैनन् । लामो समयदेखि दीर्घ रोगी बिरामीहरुले सेवा पाएका छन् ।

शिविरमा विभिन्न रोगहरुको सेवा निःशुल्क प्रदान गरिएको विजयपुर अस्पतालका अध्यक्ष तथा निर्देशक पंकज खतिवडाको भनाइ छ । उहाँका अनुसार हाडजोर्नी, दन्त सेवा, स्त्री रोग, छाला, बालरोग, आँखा रोग लगायतका सेवा निःशुल्क दिइएको थियो । नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ छथर अस्पताल र विजयपुर अस्पतालबीच सम्झौता भएको जनाइएको छ ।

छथर गाउँपालिकाले गरेको विपन्नताको सिफारिसको आधारमा निःशुल्क सेवा पाउने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । ‘अब छथर गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि र नागरिकहरुले विजयपुर अस्पतालमा शुलभ विशेषज्ञसहितको सेवा पाउने भएका छन,’ तिगेलाले भन्नुभयो, । शिविरमा गाउँपालिका २३९ जनाले सेवा लिएका छन । एक दर्जन बढी चिकित्सकहरुले विभिन्न रोगका विरामीहरुलाई सेवा दिएका थिए । स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि उपचार पाउँदा यहाँका नागरिकलाई राहत मिलेको छ ।