रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक एजेण्डामा केन्द्रित छलफल हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक आह्वान गरेको छ।

पार्टीका सभापति रवि लामिछाने ले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने जनाइएको छ ।

प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषयमा निर्णय गरिनेछ ।

त्यसैगरी, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि बैठकको प्रमुख एजेण्डामा परेको छ। पार्टीले विज्ञ तथा परियोजना प्रस्ताव आह्वान गर्ने विषयमा पनि छलफल गर्ने तयारी गरेको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी, तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा समेत निर्णय हुने जनाइएको छ ।