दोर्खुखोलाको पुल सम्झौता अगावै निर्माण

काठमाडौँ, वैशाख २९ गते । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिना अगावै सम्पन्न भएको छ । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो ।

जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका रुपमा रहेको दोर्खुखोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।

“विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।”

तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्मको सात किलोमिटर कच्ची सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने सांसद हितबहादुर तामाङले बताउनुभयो । उर्लेनीको कृषि उपजलाई बजार पु¥याउन, स्थानीयलाई दैनिक उपभोग्यवस्तु खरिद गर्न तथा सागरकुण्ड हँुदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलबाट मघद्द पुग्ने विश्वास गरिएको छ ।

तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो । निर्माण थालेको छ महिनामै काम सम्पन्न भएको छ । विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ असार ३० गते भित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएको थियो ।

ठाडो खोला र पानीको बहाबले काम सुरु गर्न असोजपछि मात्र सम्भव भएको थियो । जयविष्णु निर्माण सेवाका प्रोपराइटर अनिल सिलवालका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार रु छ करोड ९९ लाखमा ठेक्कामा दिएको पुलको निर्माण व्यवसायीलाई रु पाँच करोड ६२ लाख भुक्तानी दिन बाँकी छ ।