माओवादी अध्यक्ष दाहाल दाङ पुगे

दाङ —  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी शुक्रबार (आज) बिहान दाङ पुगेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अध्यक्ष दाहालले तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिहान तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको बताइएको छ।

तुलसीपुरको सभापछि शहीद स्मृति आवासीय माविमा पुगेर शहीद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाटको कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

Nobel Medical college

अध्यक्ष दाहाल दाङ पुग्दा उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणी खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्यलगायत नेताहरूले स्वागत गरेका छन्।

दाहाल शनिबार घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्किनेछन्।