शिक्षकका माग वार्ताबाट समाधान गर्छु: शिक्षामन्त्री

काठमाडौं  — नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूको आन्दोलन र मागलाई वार्ताबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकहरूको मागबारे आफू जानकार रहेको बताउँदै मन्त्रालयका अधिकारीहरूसँग विस्तृत जानकारी लिएर समस्याको समाधान खोज्ने उल्लेख गरे।

“भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेको छु। शिक्षकहरूको आन्दोलन र मागबारे जानकार छु। मन्त्रालयले यसअघि गरेका प्रयासप्रति आभार व्यक्त गर्छु। अब विस्तृत जानकारी लिएर वार्ताको माध्यमबाट समाधान खोज्छु,” मन्त्री पन्तले भने।

Laxmi sunrise bank 2034

उनले शिक्षकहरूलाई कक्षाकोठामा फर्काउन वार्तालाई प्राथमिकता दिने र बोल्नेभन्दा काममा ध्यान केन्द्रित गर्ने बताए।

मन्त्री पन्तले पहिलो निर्णयस्वरूप मन्त्रालयको कार्यविधि तयार गर्न १५ दिने समयसीमासहित समिति गठन गरेका छन्। उनले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर आन्दोलनको समाधानमा अगाडि बढ्ने योजना बनाएका छन्।

काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा केन्द्रित शिक्षक आन्दोलन गत चैत २० गतेदेखि २३ दिनदेखि जारी छ। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राख्दै आन्दोलन गरिरहेका छन्। मन्त्री पन्तले मन्त्रालयले यसअघि गरेको पहलको प्रशंसा गर्दै थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

“मेरो सम्पूर्ण ध्यान शिक्षकहरूको माग सम्बोधनमा केन्द्रित हुनेछ। वार्ताबाट समाधान निकाल्ने प्रयास गर्छु,” उनले सञ्चारकर्मीहरूसँग भने।