हुम्लामा हिमताल फुट्दा विस्थापित भएका परिवारको उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

काठामडौं —  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा हिमताल फुट्दा आएको बाढीबाट विस्थापित भएका नागरिकको उद्धार र राहतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत सरकारले आलोचना गरेका हुन्।

हुम्लाको  नाम्खा गाउँपालिका ६ लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर यही जेठ १ गते बाढी आएको थियो। त्यसबाट सो क्षेत्रका ५० घरधुरी नागरिक प्रभावित भएका स्थानीय प्रशासनले जनाएको छ।

Laxmi sunrise bank 2034

५० घरधुरी रहे पनि तील गाउँमा हाल १८ घरमा ३३ जना मात्रै बस्दै आएको पाइएको छ। उनीहरु अहिले पहिरोको उच्च जोखिममा छन्।

माओवादीको मध्यपहाडी अभियानको क्रममा अहिले दैलेखको कोतगढीमा रहेका प्रचण्डले  तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले आफूलाई गम्भीर बनाएको बताएका छन्।

‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले त्यस क्षेत्रमा बाढीपहिरोबाट जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पनि आफ्नो पार्टीपङ्तीलाई निर्देशन दिएका छन्।

साथै प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रहसमेत गरेका छन्।