हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

हेटौँडा (मकवानपुर) – लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै स्थलगत निरीक्षण र सरसफाइ कार्य सुरु गरिएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि सञ्चालनमा आएको यो उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। त्यसयता उद्योग पुनः सञ्चालनका लागि पटक–पटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार यसपटक सरकारको चासो बढेसँगै उद्योगको पुनः सञ्चालन प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार उद्योगका उपकरणहरू सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेका छन् ।

सूचना अधिकारी भण्डारीले उद्योगसँगै सञ्चालनमा रहेका बुटवलको धागो कारखाना र बाँकेको नेपालगन्जको कपास उत्पादन कारखाना पनि तत्कालीन समयमा सँगसँगै सञ्चालनमा आएको भए पनि कपडा उद्योग बन्द भएपछि ती पनि बन्द भएको जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अग्रसरतामा उद्योग पुनः सञ्चालनको तयारी भइरहेको छ । हाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहितको टोलीले उद्योगको स्थलगत निरीक्षण गरिसकेको छ । त्यस्तै हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि अनुगमन गरेको छ ।

मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा सरकार यसै वर्षदेखि हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभएको थियो। उहाँका अनुसार रुग्ण उद्योगहरूमध्ये यो उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइनेछ ।

उद्योग पुनः सञ्चालनसँगै बुटवलको धागो उद्योग र कपासखेती पनि पुनः सुरु गर्ने योजना रहेको बताइएको छ ।

उद्योग बन्द भएपछि २०७५ सालदेखि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण उद्योग परिसरमा तैनाथ छ । हाल उद्योग परिसर पूर्ण रूपमा सुरक्षित रहेको र सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरीको संयुक्त टोलीले सरसफाइसमेत गरेको जनाइएको छ ।