झापा — झापामा पछिल्लो समय कच्ची तथा भित्री सडकमा ‘पेभर्स’ राखेर सडक स्तरोन्नति गर्ने क्रम तीव्र रूपमा बढ्दै गएको छ । छिटो निर्माण हुनसक्ने, हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएकाले जिल्लाका विभिन्न स्थानीय तहमा पेभर्स सडकप्रति आकर्षण बढेको हो ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडक कालोपत्रे गरिएको र कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स प्रयोग गर्न थालिएको बताए ।
“पछिल्लो समयमा भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण भइरहेको छ,” उनले भने, “हेर्दा राम्रो देखिन्छ, भत्किए पनि मर्मत गर्न सजिलो हुन्छ ।”
उपप्रमुख पराजुलीका अनुसार ठेकेदारले पाँच वर्षको ग्यारेन्टी दिने भएकाले नगरपालिकालाई मर्मतसम्भारमा सहजता भएको छ । “कालोपत्र सडक तीन–चार वर्षमै बिग्रिए नगरपालिकाले आफ्नै स्रोतबाट मर्मत गर्नुपर्छ,” उनले भने,“तर पेभर्स सडक ग्यारेन्टी अवधिसम्म ढुक्क हुन्छ ।” नगरपालिकाअगाडि निर्माण गरिएको पेभर्स सडक सात–आठ वर्ष बितिसक्दा पनि राम्रो अवस्थामा रहेको उनले बताए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले पछिल्लो आठ वर्षमा नगर क्षेत्रमा धेरै सडक कालोपत्र र पेभर्स दुवै प्रकारले निर्माण भएको जानकारीदिए । उनले अनुसार ६०–४० को अवधारणा (नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत योगदान) अनुसार पेभर्स सडक निर्माण भइरहेको छ ।
“पाँच वर्षको ग्यारेन्टी हुने भएकाले उपभोक्ता समितिहरू पनि पेभर्स सडकतर्फ आकर्षित भएका छन्,” उनले भने, “हामीले बुझ्दा यस्ता सडक १५ वर्षसम्म टिक्ने देखिन्छ ।”
सघन सहरी विकास कार्यालय झापाका प्रमुख प्रदीपकुमार सिंहले योजनामा उल्लेख भएअनुसार नै सडक निर्माण भइरहेको बताए । “कालोपत्र उल्लेख भएको योजनामा कालोपत्र नै हुन्छ,” उनले भने,“कतिपय योजनामा स्तरोन्नति वा सौन्दर्यकरणका लागि पेभर्स सडक पनि बनाइन्छ ।”
पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोका अनुसार धेरैजसो स्थानमा स्थानीयवासीले नै पेभर्स सडकको माग गर्ने गरेका छन् । “स्थानीयले रंगीचंगी पेभर्स सडक बनाइदिन आग्रह गर्नुहुन्छ,” उनले भने, “अवस्था हेरेर सम्भव भएसम्म काम गर्ने गरेका छौँ ।”
कार्यालयले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त पेभर्स प्रयोग गरेर मात्रै सडक निर्माणका लागि बोलपत्र आह्वान गर्ने गरेको उनले जानकारी दिए ।
पेभर्स सडकको माग बढेसँगै झापामा साना–ठूला उद्योग खुल्ने क्रम पनि तीव्र बनेको छ । जिल्लामा करिब ५० वटा साना तथा मझौला उद्योग र एउटा एनएस प्राप्त ठूलो उद्योग सञ्चालनमा छन् । अर्जुनधारा–७ स्थित विल्डकन इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीका अनुसार माग बढेपछि उत्पादन क्षमता पनि बढाइएको छ ।
“स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रले साना तथा भित्री सडक, पेटी र पार्किङस्थलमा पेभर्स प्रयोग बढाएका छन्,” उनले भने, ।
आठ वर्षअघि स्थापना भएको उक्त उद्योगले सुरुमा उत्पादन क्षमताको २०–३० प्रतिशत मात्र उत्पादन गर्दै आएकोमा हाल ५० प्रतिशतसम्म उत्पादन गरिरहेको जनाएको छ ।
“नेपालमा एनएस प्राप्त पहिलो पेभर्स उद्योग हामीले नै सञ्चालनमा ल्याएका हौँ,” गट्टानीले भने,“अहिले देशभर १२ वटा उद्योग छन् भने तीन वटा थप उद्योग सञ्चालनको तयारीमा छन् ।”
उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालका अनुसार मापदण्डअनुसार बनेको पेभर्स सडकको पाँच वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुन्छ । झापामा उत्पादन भएका पेभर्स प्रयोग गरी सडक, सडकपेटी, सवारी पार्किङस्थललगायत संरचना निर्माण भइरहेको छ ।
झापामा पेभर्स सडकप्रतिको बढ्दो आकर्षणले एकातिर स्थानीय तहको पूर्वाधार विकासमा नयाँ विकल्प दिएको छ भने अर्कोतर्फ स्थानीय उद्योग र रोजगारीसमेत प्रवद्र्धन गरेको छ ।



