जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

काठमाडौँ —परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।

जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिईन् । उक्त भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

Shivam Cement

मन्त्री डा राणाले भनिन्, “यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।”

परराष्ट्रमन्त्री डा राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिईन् ।

त्यसैगरी मन्त्री डा राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिईन्।

उक्त भेटमा  मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाका बारेमा कुराकानी गरेका थिए । यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता भएको थियो ।