आदिवासी जनजातिका चाडपर्वलाई राष्ट्रिय पहिचान कांग्रेसले दिएको हो : देउवा

काठमाडौँ —  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा वुधबार आयोजित ‘प्रदेश स्तरीय सङ्गठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ उद्घाटनलाई सम्बोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन्।

देउवाले आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुवात नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको पनि बताए।

Shivam Cement

संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन चाहेको पनि बताए।

‘आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्न कांग्रेस प्रतिबद्ध छ,’ देउवाले भने, ‘संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको छ।’

साथै, सभापति देउवाले नेपाली कांग्रेस आदिवासी, जनजातिहरूको सशक्तीकरणका लागि सधैँ क्रियाशील रहेको पनि बताए।