माओवादी पदाधिकारी बैठकको निष्कर्षः सदनमा ‘छलफलको वातावरण हुनुपर्छ’

काठमाडौँ — नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ।

बिहीबार बसेको माओवादी (केन्द्र)को केन्द्रीय पदाधिकारी बैठकले संसदको अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

Shivam Cement

माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ। उनले गृहमन्त्रीको राजीनामा भन्दा पनि छानबिनलाई माओवादीले मुख्य विषय बनाएको संकेत गरे।

सापकोटा  भन्छन्, ‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ। व्यक्ति विशेषमा हाम्रो ध्यान छैन। तर मुख्य कुरा छानबिनकै हो भन्ने छ। अब यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो। सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँगग कुराकानी गर्नुपर्ने छ। आज कुराकानी हुन्छ। यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष छ।’