चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ, चैत १९ गते । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।

यहाँका चार वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिनुभयो । रू २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र बीस महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उहाँले बताउनुभयो । “एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा आठ सय १३ रुख कटान गर्नुपर्ने छ”, यादवले भन्नुभयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रियामा छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले प्रशोधन केन्द्र निर्माणका लागि जमिन खोजिरहेको बताउनुभयो । “केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ । जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गर्दैछ”, उहाँले भन्नुभयो । पालिकाले उत्तरतर्फको चुरे फेददेखि ब्रह्मदेव हुँदै वडा नं १९ बागफाँटासम्म प्रशोधन केन्द्रका लागि जग्गा हेरे पनि अन्तिम टुङ्गो भने लाग्नसकेको छैन ।

पालिकाले जग्गा पहिचान र प्राप्तिका लागि केही समयअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको प्रवक्ता खड्काको भनाइ छ ।

भीमदत्त नगरपालिका क्षेत्रको बजार र मझगाउँसम्मको सडक, फुटपाथ, नालीलगायत संरचनाको कामले भने गति लिएको छ । सडक निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीका इञ्जिनियर भुपेन्द्र सिंहले योजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणअन्र्तगत करिब १४ किलोमिटर सडक, नाली, पुटपाथलगायत संरचना बनिरहेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीमार्फत यहाँका चार पालिकामा सडक तथा प्रशोधन केन्द्र निर्माणको काम भइरहेको इकाइका इञ्जिनियर सञ्जीव कुमार शाहले बताउनुभयो । उहाँले गोदावरी नगरपालिकामा प्रशोधन केन्द्रका लागि रुख कटानको काम सकिएर अन्य संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । रू ५१ करोड लागतमा निर्माण हुन लागेको उक्त केन्द्रको निर्माण अवधि दुई वर्ष चार महिना तोकिएको छ ।

त्यस्तै, धनगढीमा प्रशोधन केन्द्र निर्माणका लागि रुख कटान आदेश प्राप्तिको प्रक्रियामा रहेको इञ्जिनियर शाहको भनाइ छ । “धनगढीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएर रुख कटानको आदेश वन तथा वातावरण मन्त्रालयबाट पाउने प्रक्रियामा छ”, शाहले भन्नुभयो, “कटानको आदेश आएपछि काम सुरु हुन्छ ।” उहाँका अनुसार धनगढी र गोदावरीको प्रशोधन केन्द्रको निर्माण सिच्युवान प्रोभिन्स जीओलोजिकल इञ्जियरि¬ङ कम्प्लेक्सले गर्नेछ ।