प्रमुख प्रशासकीय अधिकृत यादव र जनसवाल दैनिकका सम्पादक बगालेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ —   पत्रिकामा छाप्न दिएको सूचना नछापी रकम मात्रै लिएको अभियोगसहित प्रमुख प्रशासकीय अधिकृत र सम्पादकमाथि भ्रष्टाचारको अभियोग लगाएको छ।

रौतहट फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, तराई पोष्टका प्रतिनिधि, प्रकाशकसमेत ५ जनाविरुद्ध भ्रष्टाचारको अभियोग लागेको हो।

Shivam Cement

उनीहरुमाथि नीजि लाभका लागि रकम राज्य कोषलाई हानी नोक्सानी पुर्याएको अभियोग लगाइएको छ।  अख्तियारले जनाए अनुसार फतुवा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा कृषकहरुका लागि वितरण गर्न ‘स्प्रे टंकी’ खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न २०७८ माघ १८ गते जनसवाल राष्ट्रिय दैनिक र २०७८ फागुन २७ गते तराई पोष्टमासूचना प्रकाशित गर्न दिए पनि सूचनै प्रकाशित नगरी मिलेमोतोमा रकम लिनुखानु गरेको अभियोग लगाइएको छ।

उनीहरुले दुई लाख १२ हजार दुई सय २५ रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। अभियोगमा प्रमुख प्रशासकीय अधिकृत यादव, संपादक बगाले, तत्कालीन सहलेखापाल नविन कुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादवलाई भ्रष्टाचार निवारण ऐन अनुरुप सजायको मागदाबी गरिएको छ।

उनीहरुमाथि बदनियतपूर्ण उद्देश्यले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुट्टा नक्कली पत्रिका तथा बिल भरपाई पेश गरी भुक्तानी लिनदिनु गरेको आरोप छ।