ओली सरकारबाट बाहिरियो नाउपा, राजीनामा बुझाउन निर्देशन कुर्दै राज्यमन्त्री चौधरी

काठमाडौँ —  नागरिक उन्मुक्ति पार्टी नाउपाले सङ्घीय सरकारलाई लिएको समर्थन फिर्ता लिएको छ । नाउपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी छन् । पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राज्यमन्त्री चौधरीले पनि राजीनामा बुझाउने तयारी गरेका छन् ।

संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन लगत्तै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरिएको उनले बताए । ‘हामीले सरकारबाट बाहिरिने निर्णय गरिसकेका छौँ । मैले राजीनामा पत्र तयार गरिसकेको छु ’ उनले भने ‘संरक्षक ज्यू र अध्यक्ष ज्यूको निर्देशन आए लगत्तै प्रधानमन्त्री ज्यूलाई पत्र बुझाउँछु ।’

Shivam Cement

समर्थन फिर्ताको निर्णय आज संसद् सचिवालयका दर्ता गराउने तयारी भइरहेको संसदीय दलका नेता गङ्गा चौधरीले जानकारी दिए ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै अब पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराइन् । उनले आजै राज्यमन्त्री चौधरीले राजीनामा बुझाउने समेत बताइन् । ‘हिजो समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयका दर्ता हुन्छ’ उनले भनिन् ‘त्यसपछि हामी प्रतिपक्षमा बस्छौ । हाम्रो मन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ ।’