काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र भएका विभिन्न चुनौतीबारे ब्रिफिङ गरेका छन्। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका चुनौतीबारे ब्रिफिङ गरेका हुन्।
पार्टीप्रति प्रहार
शर्माले सरकारबाट अपेक्षित काम हुन नसक्दा पार्टीप्रति प्रहार भइरहेको बताए। उनले भने, ‘सरकारबाट अपेक्षित काम हुन नसक्ने तर, अनपेक्षित काम हुँदा हुँदा प्रहार बढ्दो छ।’
एमालेसँगको सहकार्य
शर्माले नेकपा एमालेसँगको सहकार्य पनि कांग्रेसका लागि चुनौती रहेको बताए। उनले थपे, ‘एमालेसँगको सहकार्य नै हाम्रा लागि चुनौती हो। एमालेले गरेका कामको दोष हामीमाथि आइदियो भने ?’
चुस्तदुरुस्त काम
पार्टीले चुस्तदुरुस्त काम गर्न नसकेको पनि उनको स्वीकारोक्ति छ। ‘निश्चित विषय तोकेर नेताहरूलाई काम दिउँ। सहमहामन्त्रीजीहरूलाई काम नदिनेले हाम्लाई के काम दिनुहोला भनेर केही साथीहरूले भन्नु भएको छ। सभापतिजीले यसमा ध्यान दिनुहोला’ शर्माले भने।
बोल्ने विषय
पछिल्लोपटक पार्टीका सांसदहरूले बजेटलाई लिएर संसद्को रोस्ट्रममै पार्टीबाटै मन्त्री भएकाहरूमाथि कटाक्ष र प्रश्न गरेको विषयलाई पनि शर्माले चुनौतीको रुपमा देखेको बताए।
‘सांसद कहाँ बोल्ने ? संसद्को अगाडि बोल्ने कि कहाँ बोल्ने ? कि मिडियाका अगाडि बोल्ने ? यो छुट्याउनै पर्छ,’ उनले भने, ‘व्यक्तिगत प्रवृत्तिका कुरा सार्वजनिक रुपमा राख्नुपर्ने विनम्रता र आन्तरिक रुपमा राख्नुपर्ने नम्रता ख्याल गर्नुपर्छ।’
भ्रातृ संस्थाको चुनौती
भ्रातृ संस्थाले पनि पार्टीलाई चुनौती थपेको बताउँदै उनले यसबारे छुट्टै छलफल आवश्यक रहेको भन्दै धेरै कुरा गरेनन्।
प्रवासी नेपालीको मन जित्न चुनौती
महामन्त्री शर्माले प्रवासमा रहेका नेपालीको मन जित्न ठूलो चुनौती रहेको बताए। गैरआवसीय नागरिकतादेखि परराष्ट्रमन्त्रालयले हाल तयार पारिरहेको विधेयकले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै विदेशमा भएका नेपालीको मताधिकारबारे पनि उनले पार्टीको ध्यानाकर्षण गराए। ‘मतदानबारे अदालतले आदेश दिइसकेको छ। ढिलोचाँडो कार्यान्वयन हुन्छ। अहिले प्रतिकूल र अनुकूल भन्दा पनि कसरी अनुकूल बनाउने भनेर लाग्नुपर्छ,’ उनले भने, ‘जहाँ नेपाली पुगेका छन् त्यहाँ कांग्रेसको संगठन बन्नुपर्छ।’
अर्को पछिल्लोपुस्तालाई कांग्रेस बुझाउनुपर्ने चुनौती
उनले अहिलेको पुस्तालाई कांग्रेसबारे बुझाउनै चुनौती रहेको बताए। उनले स्थिर संसद् भए पनि स्थिर सरकार नहुँदा गणतन्त्रमाथि पनि चुनौती थपिएको बताए।




