राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

काठमाडौं —  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरूलाई भेटेर फर्किएका थिए।

विपिनका आमा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए। उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन्।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएकोले मानवीय दृष्टिले पहल गर्न आग्रह गरे। सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए।