जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक, काँधमा छ चार जनाको जीवन

सर्लाही — उमेरले मात्र १७ वर्ष । पढ्ने, खेल्ने र भविष्य बुन्ने बेला हो । तर हरिवन नगरपालिका–१, लिचीटोलका विवेक परियारका लागि यो उमेर जिम्मेवारीको भारी बनेको छ । आफू नाबालक हुँदाहुँदै पनि उहाँ अहिले चार सदस्यीय परिवारका एक्ला अभिभावक बनेका छन् ।

७५ वर्षीया जिजुहजुरआमा अतिरुपा, ६० वर्षीया फरक क्षमता भएकी हजुरआमा फूलमाया र १५ वर्षीया बहिनी बिविकाको दैनिकी विवेककै कमाइमा निर्भर छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवार चलाउनु उनको बाध्यता बनेको छ ।

चार वर्षको उमेरमै आमाले साथ छाडेपछि विवेक र बहिनी टुहुरा बन्न पुगे । मामाघरतर्फको हजुरआमाको संरक्षणमा हुर्किएका विवेकले कक्षा ३ सम्म पढ्न पाए । तर जन्मदर्ता नहुँदा विद्यालयमै रोकिएर पढाइ छुट्यो । चुरे काखमा झण्डै १० धुर ऐलानी जग्गामा टिनको सानो छाप्रोमा बस्दै आएको परिवारसँग नाम मात्रको आश्रयबाहेक अरु कुनै सम्पत्ति छैन ।

बाल्यकालदेखि नै सङ्घर्ष झेलेका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । मेहनतले उहाँ अहिले कुशल ट्र्याक्टर चालक बन्नुभएको छ । तर नागरिकता र कागजात नहुँदा त्यो सीप प्रयोग गर्न पाएका छैनन् ।
“लाइसेन्स बनाउन पाए यही कामले परिवार पाल्थेँ,” विवेक भन्छन्, “कागजात नहुँदा सपना पनि अधुरै हुने भयो ।”

विवेकका बुबाको अत्तोपत्तो छैन । केही समयअघि भेटिए पनि उहाँसँग पनि कुनै कागजात नरहेको परिवारले जनाएको छ । जिजुहजुरआमा अतिरुपाका अनुसार कागजात भएका आफन्त कतै भेटिएनन् । यसै कारण दुई दाजुबहिनीको भविष्य अन्योलमा परेको छ ।

विवेकले कठिनाइका बाबजुद बहिनी बिविकालाई हरिवन–१ पटौनास्थित पटौना आधारभूत विद्यालयमा पढाइरहेका छन् । तर विद्यालयले कक्षा ८ मा भर्नाका लागि जन्मदर्ता अनिवार्य गरेको छ । “बहिनीले पनि म जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने डर लाग्छ,” विवेकको चिन्ता छ ।

यसैबीच, परिवारले प्रयोग गर्दै आएको सानो बाँसको छाप्रोसमेत ढलेपछि अहिले उनीहरू छिमेकीको शरणमा बसिरहेका छन् । ऋण गरेर भए पनि एउटा सानो घर बनाउने सपना विवेकले देखेका छन् । तर काम गर्छु भनेर विश्वास दिलाउन समेत आवश्यक कागजात नहुँदा त्यो सपना पनि टाढिएको छ ।

स्थानीय सुवास श्रेष्ठका अनुसार विवेक इमानदार र मेहनती किशोर हुन् । “सीप भएर पनि कागजात नहुँदा उनी र उनको भावी पुस्तासमेत अनागरिक जीवन बाँच्न बाध्य हुने अवस्था देखिन्छ देखा,” उनले भने, ।

वडाध्यक्ष टमबहादुर घिसिङले विवेक र बहिनीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । “कानुनको दायराभित्र रहेर जन्मदर्ता लगायतका कागजात बनाउन वडासचिवसँग निरन्तर छलफल गरिरहेको छु,” उनले जानकारी दिए ।

कागजका अभावले नागरिक बन्न नपाएका विवेकजस्ता किशोरहरूको कथा आज पनि समाजमा मौन पीडाका रूपमा बाँचेको छ ।