सिद्धबाबाको मन्दीरमा दर्शनार्थीको घुईँचो

  • शिव डुम्रे

बुटवल, फागुन ६ गते । पाल्पा र रुपन्देहीको सिमानामा पर्ने सिद्धबाबा मन्दिरमा शिवरात्री पुजा गर्ने दर्शनार्थिहरुको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको छ ।

भक्तजनहरुलाई आउनजानको लागी मन्दिर समितिले निशुल्क बस सहित ६ वटा बसको व्यवस्थापन गरेको मन्दिर विकास समतिका अध्यक्ष सन्तोष कुमार शेरचनले जानकारी दिनुभयो ।

बुटवलका राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात संचालन गरिएको छ । यसैगरी व्यवस्थापनलाई सहज बनाउनका लागि विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वयसमेत गरेका छन् ।

अघिल्लो बर्ष ४० हजारबढीले दर्शन गरेकामा यस बर्ष झण्डै ७० हजार बढी दर्शनार्थिले दर्शन गर्ने मन्दिर समितिले अनुमान गरेको छ । मन्दिरमा विहान ५ बजेदखी नै भिडभाड सुरु भएको छ भने दर्शनको लागी साझ ५ बजेसम्म मन्दिर खुला रहने छ ।

शिवरात्रीको दिन शनिबार समेत परेको कारणले ठूलो भीड लागेको छ । सिद्धबाबा मन्दिरलाई पश्चिम नेपालको पशुपतिको रुपमा लिने गरिन्छ ।