वासिङ्टन डीसी, — विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मंगलबार दुवै संस्थाका उच्च पदाधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री खनालले विश्व बैंक समूहकी प्रवन्ध निर्देशक आन्ना बेजर्डेसँगको भेटमा नेपालमा जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्नु रहेको बताए । उनले व्यवसायिक वातावरण सुधारका लागि आवश्यक संस्थागत, प्रक्रियागत र कानुनी सुधार कार्यलाई तीव्रता दिने सरकारको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खनालले नेपालको विकास प्रयासमा विश्व बैंक समूहले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपाल–विश्व बैंक सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गरे ।
उक्त अवसरमा प्रवन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग विश्व बैंक सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपालमा आर्थिक र विकास व्यवस्थापन सुधारका विषयमा विस्तृत छलफल गरेका थिए ।
यसैबीच, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का उप–प्रवन्ध निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री खनालले नेपालको आर्थिक सुधार प्रक्रियामा कोषले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै, हाल कोषसँगको सहकार्यमा सञ्चालनमा रहेको विस्तारित कर्जा सुविधा (Extended Credit Facility) अन्तर्गतका बाँकी सुधार कार्यहरूलाई अघि बढाइने बताए ।
IMF का उप–प्रवन्ध निर्देशक बो लीले सो अवसरमा विस्तारित कर्जा सुविधाको छैटौँ समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई दिँदै, आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए ।
भेटका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल पनि उपस्थित थिए ।
अर्थमन्त्री खनालले सोही दिन नेपाल–अमेरिका चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा समेत सम्बोधन गरेका छन् ।
कार्यक्रममा उनले नेपालमा लगानी–मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै, कर कानुनमा देखिएका अस्पष्टता हटाउने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने तथा लगानी स्वीकृति र व्यवसाय बन्द गर्ने प्रक्रियालाई सजिलो बनाइने उल्लेख गरे ।
कार्यक्रममा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरूले नेपालका कर र नियमनकारी नीतिहरूका केही प्रावधानले लगानीकर्तालाई असहज बनाएको बताएका थिए।
त्यसमा प्रतिक्रिया दिँदै मन्त्री खनालले आर्थिक ऐन निर्माणका क्रममा करसम्बन्धी विषयमा पर्याप्त छलफल गरी समाधान खोजिने र अन्य नीतिगत तथा कानुनी सुधारका लागि अनुसन्धान र विकासका माध्यमबाट कदम चालिने जानकारी दिए ।
अर्थमन्त्री खनालले आजै विश्व बैंक समूहका दक्षिण एसिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग पनि भेटवार्ता गर्नेछन् ।
भेटमा नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्या र ती समाधानका उपायहरूबारे विस्तृत छलफल भएको जनाइएको छ।
अर्थमन्त्री खनाल अहिले वासिङ्टन डीसीमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका छन् ।



