काठमाडौं : काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरिएको छ । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा आयोजित कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका थिए ।
आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा दुलालले कागको आवाज निकाल्नासाथ थुप्रै कागहरू भेला भएका थिए। आवाज नक्कलको असाधारण क्षमताका धनी दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्ने बताइएको छ। साथै, उनी मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रमसेट, मुर्चुङ्गा र गितारका धुन पनि निकाल्न सक्षम छन्।
दुलालले विगतका वर्षहरूमा रत्नपार्कस्थित शान्ति बाटिका, विमानस्थल परिसर लगायतका ठाउँमा सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । उनले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।”
धार्मिक र सांस्कृतिक परम्परालाई जोगाउन र जनचेतना फैलाउन दुलालले आयोजना गरेको यो कार्यक्रमलाई दर्शकहरूले उत्साहपूर्वक स्वागत गरेका छन्।
कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका थिए भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।



