चितवन – भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम हाल ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरिरहेको हो ।
भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । टावर तीन तलाको हुने जानकारी दिँदै उनले भने, “प्याराफिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम भइरहेको छ। रङ्गशालामा चार वटा प्याराफिट र दुई वटा टावर रहेका छन् । दैनिक १२२ जनाले काम गरिरहेका छन्। तिहारको समयमा मुस्लिम समुदायका २५–३० जना मात्रै काम गर्नेछन्। छठपछि काम तीव्रता पाउने छ ।” ठेक्का सम्झौताअनुसार अहिले ४८ प्रतिशत काम सम्पन्न हुनु पर्नेमा केही ढिलाइ भएको उनले बताए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि परियोजना महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । हाल हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ। विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको छ ।
पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तरराष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । यस चरणमा १५ हजार दर्शक अट्ने प्यारापिट, दुई भिआइपी टावर, मैदानसहित पाँच पिच, ड्रेनेज, रेलिङ, बाटो र पार्किङ क्षेत्र निर्माण गरिने छ। दोस्रो चरणमा थप क्षमताका लागि काम गरिने योजना छ ।
रङ्गशाला निर्माण त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा १९ कठ्ठा जमिनमा भइरहेको छ। यो परियोजना भरतपुर महानगरपालिका–१५ मा पर्दछ र अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी निर्माण भइरहेको छ ।



