कुलमान घिसिङको निरीक्षणपछि तीव्र गतिमा त्रिवि रंगशालाको काम, फ्लडलाइट जडान कार्य सकिदै

काठमाडौँ, — त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालामा फ्लडलाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन रंगशालामा राखिने भनिएका सबै ६ वटा हाइमास्ट फ्लडलाइट पोल ठड्याउने कार्य सम्पन्न भएको छ।

निर्माण व्यवसायीले आइतबार मात्र दुई वटा पोल उठाउँदै बाँकी रहेका पोलहरू पनि जडान गरी सकिएको हो। ४५ मिटर र ६० मिटर अग्ला ३०÷३० टन तौलका ६ वटा पोलहरू रंगशालामा जडान गरिएको हो। पोल नं १, ४, ५, र ६ मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ भने बाँकी दुई पोलमा लाइट जडानको कार्य सुरु हुने तयारी भइरहेको छ । आयोजनाका प्रमुख चक्रवर्ती कण्ठका अनुसार, फ्लडलाइट पोल जडान कार्य सम्पूर्ण रूपमा सकिएसँगै अब रंगशालाले राति पनि खेल आयोजना गर्न सक्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले असोज २३ गते रंगशालाको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको क्रममा दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनु अघि फ्लडलाइट र प्यारापेट जडान कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। हालसम्म प्यारापेट निर्माणको कार्य पूर्ण रूपमा सकिएको छ भने फ्लडलाइटको अन्तिम चरणको काम जारी छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) आगामी १ मङ्सिरदेखि सुरु हुँदैछ। त्यसअघि नै रंगशालालाई तयारी अवस्थामा पु¥याउने तयारी तीव्र गतिमा भइरहेको छ ।

यता, सरकारले रंगशालाको गुरुयोजना स्वीकृत गर्दै यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणको निर्माण अघि बढाउने निर्णय गरेको हो। गुरुयोजना अनुसार रंगशालाको विस्तारका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

यस निर्णयसँगै त्रिवि रंगशालाको अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणलाई थप गति मिल्ने विश्वास गरिएको छ।