गर्भवतीको समयमै हवाई उद्धार हुँदा ……

सङ्खुवासभा – जिल्लाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् आज बिहान हवाई उद्धार गरिएको छ ।

पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी तामाङको अवस्था जटिल भएपछि तत्काल विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सोमबार बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् तामाङलाई उद्धार गरी विराटनगर पठाइएको हो ।

आइतबार बेलुका स्वास्थ्य चौकी पुगेकी तामाङको परीक्षणका क्रममा नवजात शिशुको अवस्था गम्भीर देखिएपछि स्वास्थ्यकर्मीले तत्कालै रिफर गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी थपलियाले समयमै उद्धार भएकाले सुत्केरी महिलाको ज्यान जोगिएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत उक्त उद्धार कार्य सम्पन्न गरिएको हो ।

हाल तामाङलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। स्थानीय प्रशासनले उद्धारका क्रममा सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरेको छ ।