तेह्रथुम — यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा बढी भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन ६ हजार ३९३ जना भक्तजनले देवी पाथीभराको दर्शन गरेका हुन्।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भक्तजनहरू बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लामो लाइनमा बसेर पूजाअर्चना गरेका थिए।
उनका अनुसार पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरे पनि विशेषगरी दसैं–तिहारको समयमा तुलनात्मक रूपमा धेरै भक्तजन पुग्ने गर्छन् । त्यसपछि चैतेदसैंको आसपासमा पनि दर्शनार्थीहरूको भीड देखिने गरेको छ ।
गत असोज महिनाभरमा मात्र २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेको समितिले जनाएको छ। शनिबार पनि बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको समितिले जनाएको छ ।



