जलविद्युत् आयोजना र निर्माण व्यवसायी विवादले पुल निर्माण प्रभावित

म्याग्दी – मालिका गाउँपालिका केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिका धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटरेबल पुल निर्माण योजना अलपत्र बनेको छ ।

पुल निर्माणका लागि विसं २०७६ जेठ २२ गते पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच ठेक्का सम्झौता भए पनि पाँच वर्ष बितिसक्दा निर्माण कार्य सुरु हुनसकेको छैन । विसं २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने भनिएको निर्माण अझै थालिएको छैन ।

धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, “धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल अत्यावश्यक छ। तर पुल बन्ने समयसम्म पनि काम सुरु भएको छैन ।”

वडाध्यक्ष खत्रीले जनाए अनुसार विसं २०७५ मा निर्माण गरिएको अस्थायी मोटरेबल पुल जीर्ण भइसकेको छ र नयाँ पुल नबनाउँदा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दाले आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार, पुल निर्माणमा ढिलाइ हुनुको मुख्य कारणमा म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रस्तावित बाँध निर्माणस्थलमा निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ को बाढीले निर्माणस्थलमा क्षति पु¥याउनु, पुल दूरी परिवर्तन गर्नु र ठेकेदारको अदालत जाने प्रक्रिया पर्दछन् ।

काम रोकिएपछि कार्यालयले ठेकेदारलाई पेस्कीमा दिइएको रु ३३ लाख धरौटी फिर्ता गरेको छ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले पुल नबन्नुको मुख्य कारण दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना रहेको बताए । उहाँका अनुसार, “सम्झौता लगत्तै ठेकेदारलाई काम दिइएको भए पुल समयमै बन्ने थियो । जलविद्युत् आयोजनाले पुल निर्माणमा लिखित सहमति गर्नु पर्ने थियो ।”

धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले भने सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेको जानकारी छ ।

यो पुल निर्माण अलपत्र हुँदा स्थानीय बासिन्दाको आवतजावतमा ठूलो समस्या सिर्जना भएको र सडक विस्तार तथा नियमित यातायात सञ्चालनमा ढिलाइ भइरहेको छ।