जेठसम्म औसत मुद्रास्फीति २.८९ प्रतिशत, वार्षिक विन्दुगत मुद्रास्फीति ५.२२ प्रतिशत

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म औसत मुद्रास्फीति २ दशमलव ८९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव २२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत तथा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ३७ प्रतिशत रहेको छ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको मूल्य १७ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, घ्यू तथा तेलको मूल्य १५ दशमलव १० प्रतिशत, माछा तथा मासुको ५ दशमलव २६ प्रतिशत तथा तरकारीको ४ दशमलव १४ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उपसमूहको मूल्य भने शून्य दशमलव ९३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १६ दशमलव ६८ प्रतिशतले बढेको छ भने यातायात १५ दशमलव ३१ प्रतिशत, मदिराजन्य पेयपदार्थ ७ दशमलव २० प्रतिशत, शिक्षा ५ दशमलव ५४ प्रतिशत तथा कपडा तथा जुत्ता–चप्पल ५ दशमलव ५३ प्रतिशतले महँगिएको छ।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४ दशमलव ७८ प्रतिशत र सहरी क्षेत्रको ५ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ दशमलव ७५ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि मधेस र लुम्बिनी प्रदेशमा समान ५ दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशमा ५ दशमलव ०५ प्रतिशत, कर्णाली प्रदेशमा ४ दशमलव ८९ प्रतिशत, बागमती प्रदेशमा ४ दशमलव ७९ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा ४ दशमलव ६१ प्रतिशत मुद्रास्फीति रहेको छ।

भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी ५ दशमलव ७४ प्रतिशत मुद्रास्फीति देखिएको छ। काठमाडौँ उपत्यकामा ४ दशमलव ९८ प्रतिशत, पहाडी क्षेत्रमा ५ दशमलव ०७ प्रतिशत र हिमाली क्षेत्रमा ३ दशमलव ७१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।