गौमुल गाउँपालिकाले आयोडिनयुक्त नुन वितरण गर्दै

बाजुरा – बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । गाउँपालिकाले आजदेखि सबै वडामा आयोडिनयुक्त भानु नुन वितरण सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त नुन वितरण गरिनेछ । नुन लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो नेपाली नागरिकताको फोटोकपी साथमा ल्याउनुपर्नेछ ।

वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरूले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरूका लागि सिम बजारबाट नुन वितरण गरिने गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी दिए ।

नागरिकको सहजताका लागि नुन वितरणको व्यवस्था गरिएको अध्यक्ष रोकायाको भनाइ छ । उनले स्थानीयवासीलाई खानामा अभाव नहोस् भन्ने उद्देश्यले आयोडिनयुक्त नुन वितरण गर्न लागिएको बताए ।

कार्यतालिका अनुसार पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का नागरिकहरूलाई नुन वितरण गरिनेछ । गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध गरेको छ ।