डीपी अर्याल प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदको मनोनयन खुल्दा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार यदि सभामुख पदमा एकमात्र उम्मेदवार मात्र भएमा समर्थक सदस्यको स्वीकृति पश्चात् निर्विरोध घोषणा गरिने प्रावधान छ । रास्वपा पार्टीसँग २७५ सदस्यीय प्रतिनिधिसभामा स्पष्ट बहुमत (१८२ सांसद) भएकाले प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता गरेका थिएनन् ।

सभामुख चयनसँगै उपसभामुखको निर्वाचन प्रक्रिया पनि अगाडि बढ्नेछ। प्रतिनिधिसभा नियम अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका व्यक्ति हुनुपर्ने प्रावधान रहेको छ । निर्वाचित सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिको समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ भने उपसभामुखले सभामुखको उपस्थितिमा शपथ लिने व्यवस्था छ ।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख चयनमा कुन दलबाट प्रतिनिधित्व हुन्छ भन्ने विषयमा पनि विशेष ध्यान दिइन्छ । संवैधानिक परिषद् प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान अनुसार काम गर्दछ ।