पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौँ — प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा प्रवेश गरेका बेला शुभ साइत जुराएर गरिने धनुर्मास पूजा बिहीबार रातभर पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक सम्पन्न भएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे तथा अन्य ब्राह्मण सहभागी हुने परम्परा छ । यस क्रममा पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्रीचक्र पूजा, धूप, बत्ती र बालभोग अर्पण गरिएको थियो । मूलभोगका रूपमा खिचडी चढाउने परम्परा अनुसार अमालकोट कचहरीको तर्फबाट खिचडी भोग अर्पण गरिएको द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए ।

धनुर्मास पूजाका लागि महाभोग स्वरूप दुई वटा खँडकुलामा खिचडी तयार गरिने चलन छ । एउटा खँडकुलामा सख्खरसहित र अर्कोमा चिनीसहितको खिचडी बनाइने गरिन्छ । अरू दिन नुनिलो भोग चढाइने भए पनि धनुर्मास पूजाका दिन भने गुलियो र चिल्लो सामग्री अर्पण गर्ने परम्परा रहेको पशुपति क्षेत्रका मूर्त–अमूर्त संस्कृतिका शोधकर्ता बरुण खतिवडाले बताए ।

जानकारहरूका अनुसार चान्द्रमास र सौरमास दुवै पुस महिनामा पर्ने गरी धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौ पटकसम्म धनुर्मास पूजा गर्ने परम्परा रहे पनि हाल त्यो चलन लोप भइसकेको छ । त्यस समयमा भक्तजनले आफ्नै खर्चमा पनि धनुर्मास पूजा गर्ने प्रचलन थियो ।

पुस महिनामा चिसो बढ्ने भएकाले बाला चतुर्दशीदेखि नै पशुपतिनाथलाई तातोपानीले स्नान गराउने चलन रहेको छ । मीनपचासको समयमा जलचर प्राणीहरू पनि चिसोबाट बच्न गहिराइमा जाने विश्वासअनुसार पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गरी खिचडी अर्पण गर्ने वैदिक सनातनी परम्परा रहिआएको बताइन्छ ।

बिहीबार रातभर धनुर्मास पूजा सम्पन्न भएपछि आज पशुपतिनाथलाई उपवास राख्ने परम्परा अनुसार बिहानदेखि बेलुकीसम्म मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मध्याह्न १२ बजेसम्म भने एउटा ढोका खुला राखिएको थियो । उपवासका दिन महादेव कैलाश र शिवपुरी डाँडामा गएर तोरीको तेल लगाई घाम ताप्ने धार्मिक विश्वासअनुसार आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको हो ।

खोजकर्ता खतिवडाका अनुसार कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भइसकेको छ । बेलुकी महादेव कैलाश र शिवपुरी डाँडाबाट फर्कनुहुने विश्वासमा नियमित आरती गरिनेछ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीका अनुसार शनिबार बिहानदेखि पुनः नियमित पूजा आराधना सुरु भई मन्दिर भक्तजनका लागि खुला गरिनेछ ।