काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङ माथि राजीनामाको दबाब बढिरहेको छ । यही सन्दर्भमा उनी आइतबार राति रवि लामिछानेको निवास बूढानीलकण्ठ पुगेका हुन् ।
सुरक्षास्रोतका अनुसार गुरुङ बेलुकी करिब ८ बजेपछि पुगेका थिए र राति १० बजेतिर फर्किएका थिए । भेटका क्रममा उनीसँग पार्टीका अन्य नेताहरू उपस्थित नरहेको जनाइएको छ ।
भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएसँगै उनीमाथि नैतिक र राजनीतिक प्रश्न उठेको छ । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री स्वयं साझेदार हुँदा छानबिन प्रभावित हुन सक्ने भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भित्रैबाट राजीनामाको माग उठ्न थालेको हो ।
रास्वपा स्रोतका अनुसार भेटका क्रममा गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह र लामिछानेबीच फोन संवाद गराउँदै बढ्दो दबाब कम गर्ने प्रयास गरेका थिए ।
तर सभापति लामिछानेले विषयलाई पार्टी बैठकमै उठाउन सुझाव दिएको स्रोतको भनाइ छ । सोमबार बस्ने पार्टी बैठकमा यस विषयमा औपचारिक छलफल हुने सम्भावना रहेको छ ।
यो घटनाक्रमले सरकार र सत्तारूढ दलभित्र नैतिकता र पारदर्शिताको बहसलाई थप तीव्र बनाएको छ।



