मुस्ताङ, – मुस्ताङ जिल्लामा यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरला नाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि लगातार हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासँगै हिमपात भएको हो ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिउँ परिरहेको छ । “मुक्तिनाथमा पाँच–छ इन्चजति हिउँ जमेको छ,” उनले बताए, “यदि यही दरमा हिउँ परिरहे, दुई फिटसम्म जम्न सक्छ।” हिउँ परेकाले मन्दिरमा पुग्ने दर्शनार्थीहरूलाई आवागमनमा कठिनाइ भएको उनले बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सो क्षेत्रमा दुई–तीन वर्षपछि पहिलोपटक कात्तिकमै हिउँ परेको हो । “हिउँ पर्नु किसानका लागि सकारात्मक कुरा हो, यसले अन्नबाली र माटोको सिँचाइमा टेवा पु¥याउँछ,” उनले भने ।
त्यसैगरी वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च स्थानका गाउँहरूमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बनेको उनले बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । बाक्लो हिमपातका कारण सडक जोखिमपूर्ण बनेकाले सवारीसाधन नलैजान अनुरोध गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कालोभिर, खिङ्गा र झारकोट क्षेत्रमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको जोखिम बढेको छ । दर्शनार्थी र यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।



