शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं – सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला छन् । उनीहरू ७१ समूहमा विभाजित छन् ।

अनुमति लिने आरोहीमध्ये चीनका सबैभन्दा धेरै ११८ जना छन् । त्यस्तै रुसका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, जापानका २१, नेपालका २०, पोल्याण्डका १९, भारतका १८, अष्ट्रेलियाका १७, क्यानडाका १६, चेक रिपब्लिकका १६, स्पेनका १५, स्वीजरल्याण्डका १३ र अर्जेन्टिनाका सात आरोही छन् । बेल्जियमका सात तथा बुल्गेरियाका पाँच आरोहीले पनि अनुमति लिएका छन् ।

आरोहण अनुमति प्रदान गरेबापत विभागले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

शरद् ऋतुमा सबैभन्दा बढी आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

त्यस्तै, धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना र डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् । बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि समेत आरोहण अनुमति जारी गरिएको छ ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार शरद् ऋतुका लागि जारी भएका यी अनुमतिबाट पर्यटन क्षेत्रमार्फत उल्लेख्य रोयल्टी आम्दानी भएको छ ।