काठमाडौं – काठमाडौं महानगरपालिकामा हालसम्म ५६ हजार ६७३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र दुई जना एचआइभी संक्रमित छन् ।
महानगरले २०८० माघदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। आर्थिक वर्ष २०८१/०८२ मा महानगरले एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ, जसमा ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिएका छन् भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। बेवारिसे, विपन्न र बेसहाराका २१० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराइएको प्रवक्ता मानन्धरले जानकारी दिए ।
नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत हालसम्म २६ हजार १९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । साथै, वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवा सुरु गरिएको छ ।
महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । तीमध्ये ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालनमा छन् ।
स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित महानगरभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपञ्चर सेवा सञ्चालनमा रहेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।



