मन्थली — तिहार सकिएलगत्तै काटेको धान भित्र्याउने तयारीमा रहेका मन्थलीका किसानहरू बुधबारदेखि परेको अविरल वर्षाले चिन्तित भएका छन् ।
मन्थली–७ की किसान सरिता ढुङ्गेलले भनिन्, “मौसम प्रतिकूल हुने कुरा थाहा भए पनि पानी पर्नुअघि भित्र्याउने आशमा धान काटेको थियौँ, तर अब धान खेतमै भिजेको छ ।”
किसानहरूले धान झार्नका लागि मुठा बाँध्ने काम धमाधम गर्दा पनि वर्षाका कारण बाँधेको मुठा र नबाधेको धान दुवै भिजेको छ। जिल्लाको मन्थली, खिम्ती, कुनाउरी, माडिफाँट र भटौली फाँटलगायतका क्षेत्रमा किसानको काटेको धान अहिले भिजेको छ ।
गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको थियो, जसका कारण किसानहरू खुसी भएका थिए । तर, अविरल वर्षाका कारण उनीहरूको खुसी निराशामा परिणत भएको छ ।
मन्थली नगरपालिका वडा नं–६ की किसान विमला ढुङ्गेलले भनिन्, “गत वर्ष असोजमा आएको बाढीले धान उत्पादनमा नराम्रो असर पु¥याएको थियो। यस वर्ष पनि काटेको धान भित्र्याउन वर्षा नपर्नाले उत्पादन घट्ने जोखिम देखिन्छ।”
किसानहरूले धान सुरक्षित गर्न र भित्र्याउन आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ ।



