वि.पी. राजमार्ग पुनर्निर्माणका लागि जापानले २ अर्ब ६० करोड दिने, अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर

काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड रुपैयाँ) बराबरको अनुदान सम्झौता भएको छ ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको समुपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरिएको हो।

महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाइ भएको वि.पी. राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो, जुन जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको थियो । गत वर्षको विनाशकारी बाढी र पहिरोले राजमार्गका विभिन्न खण्ड गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेषगरी रोशी नदी आसपासका भागहरू पूर्ण रूपमा नष्ट भएका थिए ।

अनुदानसम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे ।

त्यसैगरी, अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानका तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (व्क्ष्ऋब्) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहपछि अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार र आर्थिक–सामाजिक विकासमा जापानले पु¥याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले यो अनुदान सहयोग नेपाल–जापानबीचको मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको बताए।

त्यसैगरी, जापानी राजदूत माएदाले जापानको सहयोगले वि.पी. राजमार्गका क्षतिग्रस्त भाग पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पुरानो मैत्री सम्बन्ध अझ सुदृढ हुने बताएका थिए।

समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापान दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिती रहेको थियो।