निन्दा खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज

झापा – मेचीनगर नगरपालिका–१५ हुँदै बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको छ । पुल सञ्चालनमा आएपछि बिर्तामोड र धुलाबारी जाँदै–आउँदै गर्ने यात्रुहरूलाई लामो दूरी हिँड्नुपर्ने बाध्यता हटेको छ ।

मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त पुल स्थानीय आवतजावतका साथै व्यापारिक तथा सामाजिक गतिविधिका लागि महत्वपूर्ण पूर्वाधार बनेको छ । वडाध्यक्ष गुणराज भट्टराईका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ ।

पहिले सामान्य स्वास्थ्य सेवा लिनका लागि स्थानीयहरूलाई करिब १० किलोमिटर घुम्नुपथ्र्यो, तर अब डेढ किलोमिटरको छोटो दूरीमै अस्पताल पुग्न सकिने भएको छ। यसले विशेष गरी वृद्ध, बालबालिका र बिरामीलाई ठूलो राहत पुगेको छ ।

स्थानीय भटभटिया राजवंशीका अनुसार पुल निर्माणअघि उनीहरू ज्यान जोखिममा पारेर नदी तर्न बाध्य थिए । “पहिले बाढीको समयमा नदी पार गर्न निकै डर लाग्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ,” राजवंशीले विगत सम्झँदै भने ।

पुल बनेपछि कृषि उत्पादन हाटबजार पु¥याउन, त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन र विद्यालय–अस्पताल आउजाउ गर्न सहज भएको स्थानीयले बताएका छन ्। पुलको निर्माणपछि मेचीनगर–१५ का पश्चिम किनारका बासिन्दाले सुरक्षित र छोटो बाटो प्रयोग गर्न पाएका छन्, जसले स्थानीय जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको छ ।